१.
छैन तिमीलाई पाउने कुनै मन्जिल छैन
र तिमीलाई पनि त्यस्तो कुनै अपिल छैन
एकैपटक हेर्यौ तिम्ले म घायल भएको हुँ
कस्ले भन्छ तिम्रो त्यो हेराई कातिल छैन
मैले जीवन कुनै अध्यारोमा जिएको होइन
छैन त केवल तिम्रो जस्तो झिलमिल छैन
तिमीलाई खुसी राख्न आँशु लुकाएँ मैले
कसरी व्याख्या गर्यौ हँ मसंग दिल छैन
२.
पहिले ऊ जिउने आधार बनेर आयो
र क्रमशः आफै गद्दार बनेर आयो
हिजो महलमा बसि टहरा जलायौ
आज पत्रिकामा समचार बनेर आयो
एक होइन, दुइ हैन, टुक्रिदै गएपछि
एउटै मुटु टुक्रिई हजार बनेर आयो
कमाउन पठाए ऋण लिएर बा ले
आज छोरो गजलकार बनेर आयो
प्रेमिकाले के भनेर पठाइन कुन्नि
प्रेमीको मुटु उपहार बनेर आयो
३.
साँच्चै यहाँ परिवर्तन को जरुरत भएको छ
ल आऊ साथी यसमा कोको सहमत भएको छ
तिमीले के सोच्छौ खै मैले थाहा पाएको कुरा
पाउने फल भर पर्नेछ जसको सङ्गत भएको छ
अब एउटा बानी बसाल्नु पर्ने छ तिमीले पनि
बिर्सिनेलाई बिर्सिदेऊ बिर्सिने बखत भएको छ
सिक्नुपर्छ हेर जीवन जिउने कला तिनीहरुबाट
जसको जमिन ऒछ्यान र आकाश छत भएको छ
४.
तिमीलाई ईश्वरले सुन्दर जरुर बनाएकै हो
र मलाई तिमी प्रति मजबुर बनाएकै हो
आमाका आँखामा भरिएका त्यी सपनाहरु
तिम्रै खातिर मैले चकनाचुर बनाएकै हो
हराभरा जिन्दगी मेरो अवश्य तिमीले नै
चरन सकिएको उजाड चउर बनाएकै हो
बिर्सन्छु आफैलाई र बिर्सन्छु हिडेको बाटो
भुलाएकै हो आखिर बेसुर बनाएकै हो
टुक्राई मेरो मुटु, तिमी मजा लुटीरहेछौ
वाह प्रिय! तिमीलाई बहादुर बनाएकै हो
५.
काम बिग्रीने बखत कसले भनिदिन्छ
यो सहि यो गलत कसले भनिदिन्छ
को बोल्छ कसरी? मेरो पक्षमा आज
विपक्ष छ जगत कसले भनिदिन्छ
लुटाइदिएँ आफैलाई तिम्ले सम्हालिनौ
अब के रह्यो बचत कसले भनिदिन्छ
सोच्नै सकेको छैन के गरौँ के नगरौँ
परेकै हो आपत, कसले भनिदिन्छ
म दिलको पक्षमा तिमी धनको पक्षमा
कसमा बढी सहमत कसले भनिदिन्छ
एक्लो यो समाजमा भौतारीरहँदा म
मलाई कस्को जरुरत कसले भनिदिन्छ
डिबी रास्कल उपेन्द्र
बर्दिया
हाल रामेछाप
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment