काठमाडौं- दुई ठूला वाम पार्टीबीचको एकता निष्कर्ष उन्मुख देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयबीच पछिल्लो समय चलेको 'वान टु वान' वार्ताबाट सहमति नजिक पुगेको दुवै दलका नेताहरुले दाबी गरेका छन्।
एकीकृत पार्टीको नेतृत्व विवादले एकता प्रक्रिया लम्बिँदै जाँदा भाँडिने खतरा देखिएको भन्दै दुवै दलका शीर्ष नेता नयाँ सरकार गठन अगाडि नै एकता प्रक्रिया टुंग्याउन सहमत भएका छन्।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार बिहान समेत 'वान टु वान' वार्ता गरेका थिए। सो छलफलमा दुवै नेता एकीकृत पार्टीमा नेतृत्वको मोडालिटी र नयाँ सरकार गठनमा सहमतिको नजिक पुगेका छन्।
एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै नयाँ सरकार गठन र एकीकृत पार्टीको नेतृत्वको विषयमा दुई शीर्ष नेताबीच सहमति बनेको दाबी गरे।
रावलका अनुसार, एकीकृत पार्टीको नेतृत्वमा दुवै दलका अध्यक्ष समान हैसियतमा रहने र सरकारको नेतृत्व समेत दुवै दलका नेताले आलोपालो गर्ने विषयमा सहमति नजिक पुगिएको दाबी गरे।
‘गठबन्धन बनाउँदा समेत नेतृत्वमा आलोपालो गर्ने सहमति थियो। दुवै पार्टी एक भएपछि सरकार र पार्टीमा कसको नेतृत्व भन्ने कुरा हुँदैन’, रावलले भने।
पार्टी एकतामा जाँदा सरकार र पार्टी नेतृत्व फरक-फरक पार्टीको हुनुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको थियो। एमाले अध्यक्ष ओलीले नयाँ सरकारको नेतृत्वसँगै पार्टी एकतामा समेत आफ्नो दाबी गरेका थिए। सोही कारण माओवादी केन्द्रका अध्यक्ष दाहालले नेतृत्वको विषयले एकता प्रक्रिया जटिल मोडमा पुगेको बताउँदै परिवर्तनका लागि फड्को मार्न तयार रहेको अभिव्यक्ति दिएका थिए।
एकता प्रक्रिया भाँडिने देखिएपछि दुवै दलका शीर्ष तहका नेताले सहमतिको पहल गरेका थिए। नयाँ सरकारको नेतृत्व भने सुरुमा एमाले अध्यक्ष ओलीले गर्नेछन्।
दुवै नेताले मंगलबार फेरि 'वान टु वान' वार्ता गरेर पार्टी एकतासँगै नयाँ सरकार गठनको रुपरेखा समेत निर्धारण गर्ने एकता प्रक्रियामा सहभागी एक नेताले बताए। मंगलबार हुने दुई नेताबीचको वार्ता सकारात्मक देखिए लगत्तै एकता संयोजन समितिको बैठकले निर्णय अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी छ।
No comments:
Post a Comment