काठमाडौं, फागुन ११ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउन सहमत भएका छन् ।
दुई पार्टीका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको ठहर गर्दै एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने निर्णय गरिसकेकाे छ ।
दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको विषयमा निर्णायक भएका बेला विप्लव र किरण नेतृत्वको माओवादीले समेत एकता प्रक्रिया अघि बढाएका हुन् ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले क्रान्तिकारी शक्तिबीच कार्यगत एकता भइरहेका समय त्यसलाई पार्टी एकतामा रुपान्तरण गर्न दुवै दलका नेताले निर्णय गरेको बताए ।
किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ऋषि कट्टेल नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग कार्यगत एकता गर्दै आएको छ ।
नेकपाका महासचिव विप्लव र नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरणले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिने बताएका थिए ।
दुवै महासचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको थियाे, ‘राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्न क्रान्तिकारी कम्युनिस्टहरुबीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निष्कर्ष सही सावित भएको छ ।
यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।’
No comments:
Post a Comment